Dr. Shiv Parsad Paudyal

Litterateur

परिचय

शिवप्रसाद पौड्यालको जन्म आमा मीनकुमारी पौड्यालको कोखबाट वि.सं. २०२३ साल चैत १७ गते बुधवार मिर्मिरे उज्यालोको समयमा गुल्मी जिल्लाको हर्दिनेटा–४, रून्जाकोट भन्ने स्थानमा भएको हो । यिनका बुबाको नाम लालमणि पौड्याल र बाजेको नाम जयलाल पौड्याल हो । बाबुको दोस्रो सन्तानको रूपमा यिनको जन्म भएको थियो

बाल्यकाल

निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका शिवप्रसाद पौड्यालको बाल्यकाल जन्म स्थानको ग्रामीण परिवेशमै बितेको पाइन्छ । पाँचभाइ छोराहरूमध्ये माहिलो छोराको रूपमा जन्मिएका पौड्यालले बाल्यकालमा बुबाआमाको न्यायो माया ममता पाए । यिनका पिता लालमणि पौड्याल सामान्य खेती किसानी गर्ने भए पनि गाउँका गन्ने मान्नेका व्यक्तित्वमा पर्ने भएकोले यिनको बाल्यकाल सुखसँग बितेको पाइन्छ । पौड्याल सानैदेखि मिलनसार, मृदुभाषी र शान्त स्वभावका थिए । बालसुलभ प्रवृत्तिका कारण यिनी आफ्ना साथीभाइहरूसँग मिलेर खेल्ने गर्दथे । यिनी जुवातास, खोपीजस्ता कुलतमा कहिल्यै नलागी सिर्जनशील कार्यमा लाग्ने गरेको पाइन्छ । पहाडी क्षेत्रमा जन्मिएकाले त्यहाँको धुले माटो र हावापानीमा खेल्दै रमाउँदै अनि सङ्घर्ष गर्दै पौड्यालको बाल्यकाल बितेको पाइन्छ ।

शिक्षा

तत्कालीन समयमा गाउँमा विद्यालय नभएकोले शिवप्रसाद पौड्यालको शिक्षारम्भ गुरुकुल पद्धतिबाट भएको पाइन्छ । पौड्यालले बुबा लालमणि पौड्यालको प्रेरणाले गाउँका तबेलाका गुरु भनेर चिनिने डिलाराम उपाध्याय पौड्यालकहाँ गएर अक्षराम्भ गरेको पाइन्छ । अक्षरम्भदेखि चण्डीको दुर्गाकवच तथा सामान्य चिठी र तमसुक लेखन उनै गुरु डिलारामसँग पौड्यालले सिके (स्रष्टासँगको अन्तर्वार्ता । कक्षा सातसम्म गाउँकै मैनाडाँडा निम्न माध्यमिक विद्यालयबाट पौड्यालले शिक्षा हासिल गरे । त्यसपछि १४ वर्षको उमेरमा सन् १९८२ मा संस्कृत अध्ययनको लागि मामा भीमप्रसाद ज्ञवालीसँग हरिद्वार ऋषिकेश वनारसतिर लागेको देखिन्छ । त्यहाँ उनले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट प्रवेशिकादेखि स्नातक तह (प्रथामादेखि शास्त्री) सम्म प्रथम श्रेणीमा उत्तीर्ण गरे । सन् १९८९ (वि.सं. २०४६) मा नेपाल फर्किएका पौड्याल त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, केन्द्रीय शिक्षण विभाग कीर्तिपुरमा नेपाली विषयअन्तर्गत एक वर्षे बी.एड. अध्ययनको लागि भर्ना भएर वि.सं. २०४८ मा सोको परीक्षा उत्तीर्ण गरेको देखिन्छ । अध्ययनमा लगनशीलता र रुचिकै कारण यिनले वि.सं. २०५१ सालमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत नेपाली केन्द्रीय शिक्षण विभाग कीर्तिपुरबाट नेपालीमा प्रथम श्रेणी अङ्क प्राप्त गरी स्नातकोत्तर उत्तीर्ण गरेको पाइन्छ । त्यसपछि पौड्यालले लोकसाहित्यको महइभ्वपूर्ण विधा मानिने ‘नेपाली उखानको अध्ययन’ शीर्षकमा खोज–अनुसन्धान गरी शोध प्रबन्ध प्रस्तुत गरेर वि.सं. २०६३ सालमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि समेत प्राप्त गर्न सफल भएको देखिन्छ ।